KidsOut World Stories

स्नो व्हाइट (हिउँजस्तै सेतो)    
Previous page
Next page

स्नो व्हाइट (हिउँजस्तै सेतो)

A free resource from

Begin reading

This story is available in:

 

 

 

 

स्नो व्हाइट (हिउँजस्तै सेतो)

 

 

 

 

 

 

 

 

 

*

एउटा जाडोयाममा, जब हिमपात आकाशबाट कपास झरिरहेझैं हुन थाल्यो, एक रानीले छोरी पाउने इच्छा गरिन् । धेरै समय नबित्दै उनको इच्छा पूरा भयो ।

बालिकाको नाम स्नो व्हाइट राखियो किनभने उनको छाला हिउँजस्तै सेतो थियो । उनका गाला रगत जस्तै राता थिए । उनको कपाल निख्खर कालो थियो ।

स्नो व्हाइट जन्मेको धेरै समय नबित्दै उनकी आमाको मृत्यु भयो ।

एक वर्ष बितेपछि त्यो देशका राजाले फेरि बिवाह गरे । नयाँ रानी धेरै सुन्दर थिइन् । उनीसँग एउटा जादुइ ऐना थियो । जब उनले त्यसमा आफ्नो प्रतिबिम्व हेर्थिन्, उनी सोध्थिन्:

‘ऐना, ऐना भित्तामा रहेको,

 कोसबैभन्दाराम्रोछ ?’

ऐनाले जवाफ दिन्थ्योः

‘तिमी सबैभन्दा राम्रो छौ ।’

त्यसपछि रानी खुशी हुन्थिन् । उनलाइ ऐनाले सधैँ सही भन्छ भन्ने थाहा थियो ।

तथापि, हरेक दिन स्नो व्हाइट थोरै थोरै बढिन् । उनी सुन्दर बच्चा थिइन्, र बढ्दै जाँदा अझै राम्री भइन् । राजकुमारी रानीभन्दा पनि सुन्दर भइन् ।

त्यसैले, एक दिन, जब रानीले ऐनालाइ प्रश्न सोधिन्, उसले जवाफ दियोः

‘मेरी प्यारी, तिमी राम्री छौ, यो सत्य हो,

 तर स्नो व्हाइट तिमीभन्दा राम्री छिन् ।’

रानी पहेंली भइन् । त्यो समयदेखि उनले स्नो व्हाइटलाइ विषजस्तै घृणा गर्न थालिन् । उनी हरेक दिन अझ बढी रिसाउन थालिन् । कसैप्रति इर्ष्यालु हुनु भनेको आफ्नो मुटुमा दुष्ट शोकको घर बनाउनु हो । अन्ततः तिनीहरू बढेर तिम्रै घाँटी अँठ्याउँछन् ।

अन्ततः, रानी स्नो व्हाइटलाइ दैनिक हेर्न उभिन नसक्ने भइन् । त्यसले गर्दा उनले आफ्नो शिकारीलाइ एउटा डरलाग्दो काम अह्राइन् ।

‘स्नो व्हाइटलाइ जंगलमा लैजाउ । म उनको अनुहार कहिल्यै हेर्न चाहन्न । तिमीले उसलाई मार्नै पर्छ । उ मरेको देखाउन उनको फोक्सो र कलेजो लिएर आउ ।’

शिकारीले आफूलाइ अह्राएजस्तै गर्ने कोशिस गर्यो । उसले स्नो व्हाइटलाइ जंगलमा लग्यो । उसले तिनलाइ मार्न आफ्नो चक्कु पनि बोक्यो ।

स्नो व्हाइट रोइन्, ‘ओह! मलाइ नदुखाउ । तिमीले मलाइ जान दियौ भने म जंगलभित्रै जान्छु र कहिल्यै घर फर्किन्न, म वाचा गर्छु ।’

‘त्यसोभए दौड,’ उनीमाथि दया देखाउँदै उसले भन्यो । उसको मुटु हलुका भयो किनभने उसले डरलाग्दो काम गरेको थिएन ।

शिकारी जंगलमा दौडिँदै गर्दा एउटा सानो सुँगुरले उसलाई उछिन्यो । उसले त्यसलाइ मार्यो र रानीलाइ स्नो व्हाइट मरेको प्रमाणित गर्न त्यसको फोक्सो र कलेजो निकाल्यो । दुष्ट रानीले तिनलाइ पकाएर खाइदिइन् । उनले स्नो व्हाइटको अन्तिम अंश देखेको ठानिन् ।

जब स्नो व्हाइटले आफूलाइ जंगलमा एक्लै पाइन्, उनी वरिपरिका रूखहरूले अनौठो आकार लिन थालेको देखियो । उनलाइ यस्तो डर लाग्यो कि के गर्ने थाहै भएन । त्रासका कारण उनी तिखा ढुंगाहरूमाथि र झाडीहरूभित्र दौडिन थालिन् । जंगलका जंगली जनावरहरू उनको अघिपछि दौडिए, तर तिनले उनलाइ केही गरेनन् ।

स्नो व्हाइट जंगलमा उनको खुट्टाले सकेजति टाढा र चाँडो चाँडो दौडिन् । आकाश अँध्यारो हुन थालेपछि उनले एउटा सानो घर देखिन् र उनी त्यहाँ छिरिन् ।

भित्रको सबै कुरा सानो थियो । त्यहाँ एउटा टेबल थियो जसमा सात वटा साना प्लेट थिए र सबैमा बेग्लै सानो काँटा र चक्कु र चम्चा थियो । सात वटा साना कपहरू थिए । भित्तातिर सातवटा साना ओछ्यान पनि थिए ।

स्नो व्हाइट यति भोकाएकी र तिर्खाएकी थिइन् कि उनले हरेक प्लेटबाट केही खानेकुरा खाइन् र हरेक कपबाट एक एक थोपा पिइन् । त्यसपछि उनी एउटा ओछ्यानमा गइन् र निदाइन् ।

जब धेरै अँध्यारो भयो, त्यो सानो घरका धनीहरू घर आइपुगे । उनीहरू सात पुड्का मान्छेहरू थिए र उनीहरू दिनभरी कडा काम गरेर आएका थिए । उनीहरू पहाडको मुटुमा रहेको खानीको गहिराइमा काम गर्थे ।

पुड्का मान्छेहरूले सात वटा बत्ती बाले र कोठाको वरिपरि चिहाए । उनीहरूले आफ्नो घरमा कोही आएको चाल पाए ।

पहिलोले भन्यो, ‘मेरो कुर्सीमा को बस्यो ?’

दोस्रोले भन्यो, ‘मेरो रोटी कस्ले खायो ?’

तेस्रोले भन्यो, ‘मेरो खीर कस्ले खायो ?’

चौथोले भन्यो, ‘मेरो तरकारी कस्ले खायो ?’

पाँचौंले भन्यो, ‘मेरो काँटा कस्ले चलायो ?’

छैठौंले भन्यो, ‘मेरो चक्कुले कस्ले काट्यो ?’

सातौंले भन्यो, ‘मेरो कपबाट कस्ले पियो ?’

पहिलो पुड्कोले खोजी गर्यो । जब उ आफ्नो ओछ्यानमा पुग्यो, उसले स्नो व्हाइटलाइ देख्यो, गहिरो निन्द्रामा । उसले अरूलाइ बोलायो, सबैजना आश्चर्यचकित हुँदै वरिपरी जम्मा भए ।

‘ओह!’ तिनीहरू कराए । ‘कस्ती राम्री केटी!’

उनीहरूले तिनलाइ उठाएनन्, बरू उनलाइ रातभरी त्यही सानो ओछ्यानमा सुत्न दिए ।

बिहान भएपछि स्नो व्हाइट उठिन् । शुरूमा ती सातवटा पुड्का देख्नेबित्तिकै उनी डराइन्, तर उनीहरू अत्यन्तै मित्रवत थिए । उनीहरूले उनको नाम सोधे ।

‘स्नो व्हाइट,’ उनले जवाफ दिइन् ।

‘तिमी हाम्रो घरमा किन आएकी ?’ पुड्काहरूले सोधे ।

स्नो व्हाइटले आफ्नी सौतेनी आमा, जो रानी थिइन्, उनले तिनलाइ मार्नको लागि जंगलमा पठाएको बताइन् । उनले त्यो शिकारीले उनलाइ कसरी भाग्न दियो र उनी कसरी जंगलै जंगल भागिन् र उनीहरूको घर भेट्टाइन् भन्ने बताइन् ।

पुड्काहरूले उनलाइ उनीहरूसँग बस्न दिने भए । त्यसको बदलामा स्नो व्हाइटले आफूले खाना पकाउने र उनीहरूको सानो घर सफा पारिदिने बताइन् ।

त्यसपछि स्नो व्हाइटले जंगलमा आफ्नो नयाँ जीवनको शुरूवात गरिन् । हरेक बिहान पुड्काहरू सुन खन्न पहाडमा जान्थे । साँझमा जब उनीहरू घर फर्कन्थे, स्नो ह्वाइटले उनीहरूको लागि खाना तयार पारेर राखेकी हुन्थिन् ।

दिनभरी ती केटी एक्लै हुन्थिन् र पुड्काहरूले उनलाइ चेतावनी दिन्थेः

‘आफ्नी सौतेनी आमाबारे चनाखो हुनु । उनले तिमी यहाँ छौ भन्ने चाँडै थाहा पाउनेछिन् । जे गरेपनि घरभित्र कसैलाइ छिर्न नदिनू ।’

अब, रानीलाइ लाग्थ्यो कि उनले स्नो व्हाइटको फोक्सो र कलेजो खाइसकिन् । उनले उनी नै फेरि एक पटक संसारकै सबैभन्दा सुन्दर स्त्री भएको सपना कहिल्यै देखेकी थिइनन् । त्यसैले उनले एक दिन आफ्नो ऐना हेरेर भनिन्:

‘ऐना, ऐना भित्तामा टाँसिएको,

 को सबैभन्दा राम्रो छ ?’

ऐनाले जवाफ दियोः

‘मेरी प्यारी, तिमी राम्री छौ, यो सत्य हो,

तर स्नो व्हाइट तिमीभन्दा राम्री छिन् ।

पहाडको माथि, सात साना मान्छेसँग,

स्नो व्हाइट बस्छिन्, अझै सबैभन्दा राम्री ।’

रानी भयभित भइन् । उनलाइ त्यतिबेला थाहा पाइन् कि उनको शिकारीले उनलाइ ढाँटेको थियो र स्नो व्हाइट जिउँदै थिइन् । जादुइ ऐनाले सधैँ साँचो बोल्थ्यो ।

दुष्ट रानी स्नो व्हाइटलाइ कसरी समाप्त पार्न सकिन्छ भनेर दिनरात सोच्न थालिन् । उनको इर्ष्यालु मुटुले उनीभन्दा राम्रो अरू कोही हुन्जेलसम्म उनलाइ आराम गर्न दिइरहेको थिएन ।

जब उनले के गर्ने भनेर योजना बनाइन्, उनले एउटा काइँयो बनाइन् र त्यसलाइ कालाजादूले विषालू बनाइन् । उनले आफ्नो अनुहारमा रंग लगाइन् र बुढी आइमाइजस्तै बनिन् । उनको रूप परिवर्तन यस्तो राम्रो थियो कि उनलाइ कसैले चिन्न सक्दैनथ्यो । त्यस्तो देखिएपछि ति दुष्ट रानी स्नो व्हाइट पुड्का मान्छेहरूसँग बस्ने गरेको घरतिर लागिन् । उनले ढोका ढक्ढक्याइन् ।

स्नो व्हाइटले झ्यालबाहिर हेरिन् ।

‘शुभप्रभात!’ उनले भनिन् । ‘माफ गर्नुहोला । म तपाईंलाइ भित्र आउन दिन सक्दिन ।’

‘तर तिमीले बाहिर हेर्न त मिल्छ नि?’ बुढी आइमाइले भनिन् । उनले केटीले देखुन् भनेर राम्रो काइँयो माथि उचालिन् ।

स्नो ह्वाइटले त्यो काइँयो यत्ति मन पराइन् कि उनलाइ भित्र आउन दिइन् । उनले ढोका खोलिन् ।

‘आउ मेरी प्यारी । म तिम्रो कपाल राम्ररी कोरिदिन्छु,’ बुढी आइमाइले भनिन् ।

स्नो ह्वाइटले आफू खतरामा परेको थाहा पाइनन् । काइँयोले उनलाइ छोएको मात्र के थियो विषले काम गर्न थाल्यो । उनी बेहोश भइन् ।

‘अब काम पुग्यो,’ दुष्ट रानी हाँसिन् । उनी चाँडोभन्दा चाँडो घरतिर दौडिइन् । 

भाग्यवश, साँझ पर्न लागेको थियो । सात पुड्काहरू घर आउन धेरै समय बाँकी थिएन । जब उनीहरूले स्नो व्हाइटलाइ भुइँमा मुर्छा परिरहेको देखे, उनीहरूले उनकी सौतेनी आमाले आफ्नो काम गरेको चाल पाए । 

उनीहरूले विषालु काइँयो नभेटुन्जेलसम्म त्यसलाइ खोजिराखे । उनीहरूले त्यसलाइ स्नो व्हाइटको कपालबाट तान्नेबित्तिकै उनी बिउँझिन् । उनले के भएको थियो सबै बेलिबिस्तार लगाइन् । पुड्काहरूले फेरि पनि आफ्नो सुरक्षा गर्न र कसैको लागि ढोका नखोल्न चेतावनी दिए ।

यता रानी घर पुग्नेबित्तिकै ऐनामा गएर सोधिन्:

‘ऐना, ऐना भित्तामा टाँसिएको,

को सबैभन्दा राम्रो छ ?’

ऐनाले जवाफ दियोः

‘मेरी प्यारी, तिमी राम्री छौ, यो सत्य हो,

तर स्नो व्हाइट तिमीभन्दा राम्री छिन् ।

पहाडको माथि, सात साना मान्छेसँग,

स्नो व्हाइट बस्छिन्, अझै सबैभन्दा राम्री ।’

जब उनले ती शब्दहरू सुनिन्, उनी रिसले थरथर काँप्न थालिन् । उनले स्नो व्हाइट फेरि पनि बाँचेको थाहा पाइन् ।

‘स्नो व्हाइट मर्नै पर्छ!’ उनी कराइन् । ‘मै मर्नु परे पनि तिनी मर्नै पर्छ!’

त्यसपछि उनी एउटा गोप्य कोठामा गइन् र उनले विषालु स्याउ बनाउने जादू प्रयोग गरिन् । त्यो सुन्दर देखिन्थ्यो र त्यसका सुन्दर सेता र राता गाला थिए । त्यो देख्ने जोकोहीले त्यो खान चाहन्थ्यो, तर खानेबित्तिकै तत्कालै मरिहाल्थ्यो ।

रानीले फेरि रूप फेरिन् । उनी जंगलतिर सात पुड्काहरूको सानो घरमा गइन् र ढोका ढक्ढक्याइन् ।

स्नो व्हाइटले झ्यालबाहिर हेरिन् ।

‘शुभप्रभात!’ उनले भनिन् । ‘माफ गर्नुहोला । म तपाईंलाइ भित्र आउन दिन सक्दिन ।’

‘मसँग तिम्रोलागि एउटा मीठो स्याउ छ प्यारी,’ बुढी आइमाइले भनिन् ।

‘नाइँ,’ स्नो व्हाइटले भनिन् । ‘म यो लिन सक्दिन ।’

‘मूर्ख केटी!’ रानीले जवाफ दिइन् । ‘तिमी किन डराएकी ? के तिमीलाइ लाग्छ यो विषालू छ ? हेर, म यो स्याउलाइ आधा पारेर काट्छु । म सेतो भाग खान्छु र तिमी रातो खाउ ।’

अब, त्यो स्याउ यस्तो तरिकाले बनाइएको थियो कि एकपट्टि खान सुरक्षित थियो भने अर्को पट्टि विषालु थियो ।

स्नो व्हाइट धेरै लालायित थिइन् । स्याउ धेरै राम्रो देखिन्थ्यो । जब उनले ती बुढी आइमाइले बाँकी आधा भाग खाँदै गरेको देखिन्, उनले आफूलाइ रोक्न सकिनन् । उनले स्याउलाइ एक पटक टोकिन् र भुइँमा लडिन् ।

‘सुनजस्तै सेतो, रगतजस्तै रातो र इबोनीजस्तै निख्खर कालो । यो बेला तिमीलाइ केहीले पनि जोगाउने छैन,’ रानी हाँसिन् । उनका काला आँखा उल्लासले चम्किए । उनी दौडिँदै घर गएर ऐनामा पुगिन्, र अन्ततः उसले भन्योः

‘तिमी नै सबैभन्दा राम्री छौ ।’

अन्ततः, रानीको दुष्ट मुटु खुशी भयो । कमसेकम त्यो एक दुष्ट मुटुले जति खुशी हुने आशा गर्न सक्थ्यो, त्यति नै खुशी भयो ।

साँझमा जब पुड्काहरू घर आए, उनीहरूले स्नो व्हाइटलाइ भुइँमा स्थिर भै लडेको भेटे । उनीहरूले उनलाइ उठाए र केही विषालु पदार्थ भेटिन्छ कि भनेर चारैतिर हेर्न थाले । उनीहरूले सोच्न सक्नेसम्म सबैथोक गरे, तर स्नो व्हाइट मरिसकेकी थिइन्, उनी मरेकै थिइन् ।

सात पुड्काहरू पुरै तीन दिनसम्म एकनासले रोइराखे । अन्त्यमा उनीहरूले स्नो व्हाइटलाइ जलाउने निधो गरे, तर तिनी मर्दा पनि यत्ति प्यारी थिइन् कि उनीहरूले भनेः

‘हामी उनलाइ चिसो चौरीमा लुकाउन सक्दैनौं ।’

उनीहरूले शिसाको कफिन बनाए र उनलाइ त्यसमा हाले । उनीहरूले त्यसको बिर्कोमा सुनौला अक्षरले उनी राजकुमारी रहेको लेखे । त्यसपछि पुड्काहरूले कफिनलाइ पहाडको माथि राखिदिए । स्नो व्हाइटको ख्याल गर्न उनीहरूमध्ये एकजना सधैँ कफिनको छेउमा रहन्थ्यो । चराहरू पनि स्नो व्हाइट मरेको पीर पोख्न त्यहाँ आइपुग्थे । शुरूमा एउटा उल्लु आयो, अनि काग आयो अनि सानो परेवा आयो ।

स्नो ह्वाइट लामो समय कफिनमै रहिन् । उनी उस्तै नै देखिन्थिन्, जस्तो कि उनी सुतिरहेकी थिइन् । उनको छाला हिउँजस्तै सेतो रह्यो । उनका गाला रगत जस्तै राता थिए । उनका कपाल निख्खर कालो नै थिए, इबोनी जस्तै ।

त्यसपछि, एक दिन एक राजकुमार पहाडमा आए । उनले कफिन र त्यसभित्र स्नो व्हाइटलाइ देखे । जब उनले सुनौला अक्षरले लेखिएका कुराहरू पढे, उनले पुड्कालाइ भनेः

‘यो कफिन मलाइ देउ । म तिमीलाइ यसको बदलामा जे चाहन्छौ त्यही दिन्छु ।’

‘नाइँ,’ पुड्कोले भन्यो । ‘हामी संसारको सबै सुन पाए पनि स्नो व्हाइटसँग छुट्टिनेछैनौं ।’

‘त्यसो भए,’ राजकुमारले जवाफ दियो । ‘कृपया यो मलाइ देउ, किनभने म स्नो व्हाइटबिना बाँच्न सक्दिन । म उनलाइ सबैथोकभन्दा बढी माया गर्छु ।’

उसले यस्तो दुखपूर्वक बोल्यो कि पुड्काहरूलाइ उमाथि दया लाग्न थाल्यो । उनीहरूले उसलाई कफिन दिए । राजकुमारले आफ्ना नोकरहरूलाइ त्यो आफ्नो काँधमा हालेर बोक्न लगायो ।

त्यसैबेला एउटा अचम्मलाग्दो कुरा भयो । नोकरहरू पहाडबाट तल झर्दै गर्दा उनीहरूले ठक्कर खाए । उनीहरूले कफिनलाइ यस्तो जोडले झट्कारे कि स्नो व्हाइटले चपाएको विषालु स्याउको टुक्रा उनको घाँटीबाट बाहिर फुत्त झर्यो । उनले थोरै आँखा झिम्क्याइन् र त्यसपछि आँखा खोलिन् ।

स्नो व्हाइटले कफिनको बिर्को खोलिन् र जिउँदो र राम्रो भएर त्यसमा बसिन् ।

‘ओह! म कहाँ छु ?’ उनी कराइन् ।

राजकुमार खुशीले भरियो ।

‘तिमी मसँग छौ,’ उ करायो । उसले जे भएको थियो त्यो सबै भन्यो र भन्यो, ‘म तिमीलाइ संसारका सबैजनाभन्दा बढी माया गर्छु । के तिमी मसँग आउँछौ र मेरी श्रीमती बन्छौ ?’

स्नो व्हाइटले स्वीकार गरिन् र उनी राजकुमारसँग गइन् । उनीहरूले चाँडै नै बिवाह गरे । बिवाह अत्यन्तै रमाइलो भयो ।

त्यो विवाहमा बोलाइएका पाहुनाहरू मध्ये स्नो व्हाइटकी दुष्ट सौतेनी आमा पनि थिइन् । जब उनले त्यहाँ जानका लागि अत्यन्त सुन्दर पहिरन लगाइन्, उनी ऐनामा गएर सोधिन्:

‘ऐना, ऐना भित्तामा टाँसिएको,

 को सबैभन्दा राम्रो छ ?’

ऐनाले जवाफ दियोः

‘मेरी प्यारी, तिमी राम्री छौ, यो सत्य हो,

 तर दुलही तिमीभन्दा राम्री छिन् ।’

जब उनले यो सुनिन्, दुष्ट महिला रिसले चुर भइन् । उनको इर्ष्यालु मुटुले छातिमा धड्कन बढायो, र उनी ती नयाँ रानीलाइ नदेखुन्जेल खुशी नहुने अवस्थामा पुगिन् ।

जब उनी समारोहमा गइन्, उनले देखिन् कि दुलही त स्नो व्हाइट नै थिइन् । उनले मारेकी केटी त मरेकै थिइनन् । दुष्ट रानीको रिसले उनलाइ चुर बनायो, उनी वैगनी रंगकी भइन् र भुइँमा पछारिएर मरिन् ।

स्नो व्हाइट र उनका राजकुमारले लामो समयसम्म खुशीसाथ राज्य गरे । कहिलेकाहीं उनीहरू पहाडमा गएर पुड्काहरूलाइ भेट्ने गर्थे । उनीहरूले स्नो व्हाइटलाइ दुखको बेलामा सहयोग गर्ने साथीहरूलाइ सधैँ सम्झन्थे ।

Enjoyed this story?
Find out more here