KidsOut World Stories

अभिशाप Vasconcelos Monteiro    
Previous page
Next page

 

 

 

 

अभिशाप

एक पोर्चुगली कथा

 

 

 

 

 

*

धेरै समय अगाडिको कुरा हो, विशाल जंगलको छेउमा एउटा सानो गाउँ थियो। त्यो गाउँ प्रायः शान्तै रहन्थ्यो, तर गाउँलेहरू सधै लोबिजोनको डरमा बस्थे, जसलाई जंगलको गहिराइमा बस्छ भनिन्थ्यो ।लोबिजोनहरु काला प्रजातिका, आधा मान्छे, आधा ब्वाँसोजस्ता रहस्यमयी प्राणीहरु थिए। भनिन्छ प्रत्येक पूर्णिमाको रात, ती प्राणीहरू मानिसको मासुको खोजीमा बिस्तारै जंगलबाट बाहिर निस्कन्थे।

तर यस्तो डरलाग्दो प्राणी बन्ने रहस्य के हो त? त्यो त साधारण छ, यो कुनै परिवारमा जन्मलिने साताैँ छोरामा लाग्ने श्राप हो। त्यो श्राप कुनै पनि छोरीहरुमा भने लाग्दैन, तर यदि कुनै आमाले सात छोराहरुलाई जन्माउँछिन भने, तिनिहरु  मध्ये अन्तिम छोराले निश्चित रूपमा लोबिजोन हुनेछ।

फिलिपे जन्मिँदा आमाको मन डरले भरिएको थियो। उनी साताैँ  छोरा भन्दा पनि छोरीको आशामा थिइन्। फिलिपेकि आमा धेरै दयालु र मायालु थिइन र गाउँलेहरूले  जति श्रापको बारेमा जे भने पनि, उनले आफ्नै छोरालाई हुर्काउन र छोराको साथ दिन पछि हट्ने वाला थिइनन् ।

धेरै वर्ष शान्तिपूर्वक बिते। फिलिपे अब एक बलियो र समझदार केटो बनिसकेको थियो, जसलाई आमाबाबु र उसका छ जना दाजुहरूले निकै माया गर्दथे। तर, समयसँगै फिलिपेले एक कुरा महसुस गर्न थाल्यो। उसलाई दाजुहरू भन्दा फरक व्यवहार गरिएको थियो। ऊ विद्यालय जादैनथ्यो, किनभने शिक्षकले उसलाई अनुमति दिन्नथे। यो कुरामा अन्याय भएको थियो किनभने त्यो सानो केटो नयाँ कुरा सिक्न चाहन्थ्यो, साथीहरू बनाउने चाहना राख्थ्यो तर ऊ जहिल्यै एक्लो महसुस गर्थ्यो।

फिलिपेलाई कहिलेकाहीं आमाले रोटी ल्याउन बजार पठाउँथिन्। तर गाउँका मान्छेहरू उसलाई टाढैबाट देखेर उसको बाटोमा आउँदैनथे र उसलाई घृणा, डरको र रिसको मिश्रित भावले हेेर्थे। यस्ता कुराले त्यो सानो केटोलाई असहज बनाउथ्यो।

गाउँका अरू बालबालिकाले उसँग खेल्दैनथे र  जब पूर्णिमा आउँथ्यो, उसलाई आँगन र बगैचा बाहिर जानै दिइँदैनथ्यो।

त्यो अन्तिम कुरा सायद सबैभन्दा पीडादायी कुरा थियो कि फिलिपेलाई चन्द्रमा निकै मन पर्दथ्यो ।विशेष गरेर जब रातको आकाशमा त्यो पूर्ण गोलाकार हुन्थ्यो,  फेलिपेसँग बोल्छजस्तो लाग्थ्यो र उसको मन झस्काइदिन्थ्यो र  उसलाई गाउने, नाच्ने र दौडिने बनाइदिनथ्यो।

तरपनि जिन्दगी  शान्त थियो, तर खुसी देखि टाढा थियो। वर्ष बित्दै जाँदा फिलिपे अझ एक्लोपनमा डुब्दै गयो। उसका साथीहरू थिएनन्  न त कहिल्यै अरू बालबालिकाहरूले सँगै खेल्न बोलाउथे। कहिलेकाहीं त उनीहरूको हाँसो सुनेर उसले कल्पना गर्थ्यो कि के खेलिरहेका छन् होला, कति रमाइलो गरिरहेका होलान।

आमाबाबु र दाजुहरूले पनि फिलिपेलाई फरक नजरले हेर्न थालेको कुरा उसले पनि महसुस गर्न थाल्यो।

“म मा यस्तो के खराब कुरा छ र?” फिलिपे अक्सर मनमनै सोच्ने गर्दथ्यो। “म त्यस्तो खराब केटा पनि होईन, मेरो काम ठीकठाक गर्छु, म कहिल्यै पनि बदमासि गर्दिन। फेरि किन मलाई अरू बच्चा भन्दा फरक व्यवहार गरिदै छ?”

आफ्नो पन्ध्रौं जन्मदिन नजिकिँदै गर्दा फिलिपे सधै भन्दा बढी दुखि थियो।

फिलिपेलाई उसको आमाले घर बाहिर धेरै जान दिन्थिनन् र उसको साथमा रहँदा अक्सर उनी तनावमै देखिन्थिन्। ऊ घरको नजिक खेलिरहेको बेला गाउँका केही दुष्ट बालबालिकाहरू उसलाई देख्ने बित्तिकै ढुङ्गा फ्याँक्थे। जब फिलिपे तिनीहरूलाई चुनौती दिन्थ्यो, उनीहरू डराएर कराउँदै भाग्ने गर्थे, मानौं ऊ एउटा राक्षस हो। कहिलेकाहीं फिलिपेलाई ठूलो जंगलमा भागेर कहिल्यै फर्किन मन हुदैनथ्यो।


एकदिन उसकी आमाले उसको हात समातेर सबै कुरा सम्झाइन्। “तिमी मेरो सातौं छोरा हौ र तिमीलाई एउटा श्राप लागेको छ, मेरो छोरा।” उनले भनिन्।

फिलिपे निकै अलमलमा परेको थियो। उसले सोध्यो, “कस्तो श्राप हो र?”

‘तिम्रो पन्ध्रौं जन्मदिनमा तिमी आधा मानिस, आधा ब्वाँसो जस्तो प्राणी अर्थात लोबिजोन बन्नेछौ।‘

फिलिपेलाई लोबिजोनको कथा राम्रोसँग थाहा थियो। उसको दाजुहरूले राति उसलाई निद्रा लागेको ठानेर फुसफुसाएर सुनाउँथे, अनि किताबहरूमा पनि त्यस्तै कथा भेटेको थियो।

तर उसलाई यस्तो श्राप लागेको छ भनेर कसैल कहिल्यै भनेका थिएनन्। फिलिपे कहिल्यै लोबिजोन बन्न चाहँदैनथ्यो। उसलाई क्रूर वा निर्दयी बन्न चाहादैनथ्यो, र लामो नङ र घना रौंले ढाकिएको शरीरको कुरा सुन्दा नै उसको मन डराउन थाल्थ्यो।

फिलिपेको पन्ध्रौं जन्मदिनको साँझ, उसको मन अरु दिन भन्दा भारी र उदास थियो। अँध्यारो कोठामा बसेर उसले रुदै सोच्यो, “म त सधैं एक्लै रहेँ। मानिसहरूले मलाई सधैं फरक व्यवहार गरे, र अब म लोबिजोन बन्ने श्रापमा परेँ। । म के गर्न सक्छु? मलाई त केवल अरू जस्तै समान व्यवहार चाहिएको थियो।मलाई त सधैं चाहिएको कुरा भनेको साथीहरूसँग जंगलमा खेल्न पाउने र रातिको सुन्दर जुनलाई हेरिरहनु मात्रै थियो।”

त्यसै बेला, फिलिपेले आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्यो र  ताराले भरिएको  कालो निलो आकाशमा उज्यालो पूर्णचन्द्र देख्यो। त्यो ठूलो र सुन्दर चन्द्रमाले उसको मन भित्र खुशी भरिदियो। अनि अचम्मको घटना भयो, उसको पेटमा केही हलचल भयो र शरीरभरि सुक्खा चिलाउने अनुभूति आयो। छातीबाट एक चिच्याहट जस्तो आवाज आयो, उसले टाउको उठाएर चन्द्रमातर्फ हेरेर उसलाई बोलायो, जस्तो उसले पहिले यस्तो हर्कत कहिल्यै गरेको थिएन।

अचानक उसको शरीरमा घना रौंले भरियो  र उसको हातखुट्टाका नङहरु लामो, सेता नङमा परिणत भए। उसको लुगा फाटेर खुट्टामुनि झरे। अनि जब फिलिपेले ऐना हेर्यो, घना रौंले छोपिएको र रातको अँध्यारोमा चम्किने रातो आँखाहरू लिएको  ब्वाँसो जस्तो देखिने एउटा केटो उसको झल्को फर्काइरहेको थियो।

‘त्यसो भए म लोबिजोन हुँ!’ उसले अचम्म मान्दै भन्यो।

फिलिपेले चन्द्रमा र जंगलको आवाज महसुस गर्यो र बुझ्यो कि अब पुरानो जीवनलाई छाडेर आफ्नो भाग्य स्वीकार्ने समय आइसक्यो।

सानो ब्वाँसो केटाले आफ्नो कोठाको झ्याल खोल्यो। रातको अँध्यारोमा उफ्रिनुअघि एकपटक आफ्नो पुरानो कोठातर्फ हेरेर आफ्ना आमा, बुवा र छ दाजुहरूलाई याद गर्यो। “मेरो मायालु परिवारलाई म सधैं सम्झिरहनेछु, तर अब म आफ्नो पहिचान स्वीकारेर नयाँ जीवन सुरु गर्नुपर्छ,’ उसले मनमनै विचार गर्यो।

त्यसपछि ऊ आफ्नो कोठाको झ्यालबाट उफ्रियो र जंगलतिर दौडियो। चन्द्रमालाई कराउँदै, उसको मन भविष्यको नयाँ आशाले भरियो।

फिलिपे ठूलो जंगलको गहिराइमा पुग्दा एउटा खुल्ला, सुन्दर ठाउँमा रोकियो। पुराना रुखहरू हेर्दै र आकाशमा चम्किरहेको ठूलो चन्द्रमालाई निहाल्दै ऊ निकै लामो समयसम्म करायो, उफ्रियो, नाच्यो र खुसीले हाँस्यो। जब ऊ अन्ततः शान्त भयो, चारैतिर हेर्दा त्यही खुला ठाउँमा कतिपय उसको जस्तै जवान, कतिपय त अझै वयस्क भएका अरू पनि धेरै लोबिजोनहरू जम्मा भएका थिए।

उनीहरूले फिलिपेको नजिक आएर स्वागत गरे।

उनिहरु मध्य एक जनाले मिठो र शान्त आवाजमा भन्यो, “यहाँ साथीहरूको बीचमा, जंगलको काखमा तिमी आफ्नो ठाउँमा छौ।” त्यहीबेला फिलिपेलाई शायद  कहिल्यै श्राप लागेको थिएन भन्ने महसुस भयो।

“म लोबिजोन हुँ र यो मेरो घर हो!” उसले मुस्कुराउँदै भन्यो। टाउको उठाएर चम्किलो पूर्णचन्द्रतिर हेर्दै उसले आफ्नो सबै शक्ति लगाएर करायो। अरू सबै लोबिजोनहरू पनि उसको साथ दिएर आकाशमा चन्द्रमाको सम्मानमा शक्तिशाली स्वरमा कराउन थाले।

धेरै टाढा जंगलको छेउमा, फिलिपेकी आमा आफ्नो बगैचामा उभिएकी थिइन्। रातको पहिरनमा उनी चुपचाप बसिरहेकी थिइन् र जंगलबाट आउने लोबिजोनहरूको चिच्याहट  सुन्दै थिइन्। उनी आफैमा खुशी थिइन् किनभने , उनलाई थाहा थियो कि उनका सातौं छोराले आखिर आफ्नो ठाउँ फेला पार्यो, जहाँ उसलाई स्वागत हुनेछ, धेरै साथिहरू भेट्नेछ र जहाँ उसले खुसीसाथ जीवन बिताउनेछ।

Enjoyed this story?
Find out more here